Swasthya Awaj
थापाथली प्रसूतिगृहमा भोली हुने 'स्वस्थ शिशु प्रतिस्पर्धा', सय बढी शिशु सहभागी हुने

काठमाडौं, २०८२ साउन १३- राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भोली (साउन १४ गते) “स्वस्थ शिशु प्रतिस्पर्धा” आयोजना हुँदैछ। अस्पतालले नियमित रूपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको यो ६१औँ संस्करण हो।

प्रतिस्पर्धामा अस्पतालमै जन्मेका शिशुहरू मात्र सहभागी हुन पाउने छन्। सहभागी शिशुहरूलाई उमेर अनुसार तीन समूहमा विभाजन गरिनेछ जन्मिएपछि ४५ दिनभित्रका शिशु ‘ग्रुप ए’, ४६ दिनदेखि ६ महिनासम्म ‘ग्रुप बी’ र ६ महिनादेखि १ वर्षसम्मका शिशु ‘ग्रुप सी’ मा प्रतिस्पर्धा गर्नेछन्।

TB

यो वर्षको प्रतिस्पर्धाका लागि १० असारदेखि ८ साउनसम्मको अवधिमा नाम दर्ता गरिएको थियो। सो अवधिमा १०२ जना अभिभावकले आफ्नो शिशुको नाम दर्ता गराएका छन्। स्वस्थ शिशु प्रतिस्पर्धा समिति संयोजक डा. कल्पना सुवेदीका अनुसार कम्तीमा १०० जना शिशुको सहभागीता हुने अनुमान गरिएको छ।

प्रतिस्पर्धामा शिशुको तौल, उचाइ, पोषण अवस्था, शारीरिक र मानसिक विकासको मापदण्डका आधारमा मूल्यांकन गरिनेछ। साथै, आमाको स्वास्थ्य सम्बन्धी ज्ञान, सरसफाइ, स्तनपान अभ्यास, परिवार नियोजन र प्रसूति सेवामा पहुँचजस्ता पक्षहरूको पनि समग्र मूल्यांकन गरिने संयोजक सुवेदीले जानकारी दिइन्।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले यो कार्यक्रम मार्फत आमाहरूलाई शिशु विकास सम्बन्धी सटीक जानकारी दिन र जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने बताए। “कुन उमेरमा शिशुको कस्तो तौल र विकास हुनु आवश्यक छ भनेर बुझाउने उद्देश्यले यो कार्यक्रम गरिँदैछ,” उनले भने।

प्रतिस्पर्धाका विजेताहरूलाई अस्पतालको बार्षिकोत्सव समारोहमा (साउन ३१ गते) पुरस्कार प्रदान गरिनेछ। तीन समूहबाट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी हरेक समूहबाट चार जनालाई पुरस्कृत गरिने छ। यसरी कुल १२ जना शिशुले पुरस्कार प्राप्त गर्नेछन्।

कार्यक्रमले शिशु स्वास्थ्यप्रति अभिभावकको जागरूकता बढाउने र मातृ-शिशु स्वास्थ्यको प्रवर्द्धनमा सकारात्मक योगदान पुगाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update