
काठमाडौं, २०८२ साउन १३- केही समयदेखि बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । अस्पताल आगामी साउन १६ गते, शुक्रबारदेखि सेवा पुनः सुरु गरिने कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिएका छन् ।
उनका अनुसार अस्पताल पुनः सञ्चालनमा ल्याउनुको उद्देश्य कलेजको शैक्षिक कार्यक्रम नियमित बनाउन हो । "अस्पताल सञ्चालन गर्न आवश्यक तयारी पूरा गरेका छौं," अन्सारीले भने, "अब सेवा सुरु गरेर मेडिकल कलेज पनि सञ्चालन गर्ने योजना छ ।"
अस्पताल व्यवस्थापक दिलिप साहका अनुसार, पुनः सञ्चालनको सुरुवातसँगै सर्वसाधारणका लागि ओपीडी सेवा निःशुल्क रुपमा प्रदान गरिनेछ । अर्को सूचना नआएसम्म सेवा निःशुल्क नै रहनेछ । ओपीडी बाहेकका अन्य सेवामा विशेष छुट दिइने जानकारी पनि उनले दिए ।
शिक्षण अस्पतालबाट प्रारम्भमा प्रदान गरिने विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक-कान–घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोग समावेश छन् ।
अस्पतालले आपतकालीन सेवा चौबीसै घण्टा सञ्चालन गर्नेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे, फिजियोथेरापी लगायतका सेवामा छुट दिइने बताइएको छ । साथै फार्मेसी सेवा पनि उपलब्ध हुने जानकारी अस्पतालले दिएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत जहाँगिर अन्सारीका अनुसार शहरको बीचमा रहेको यो अस्पताल सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले पुनः सञ्चालनमा ल्याइएको हो । "पुनः प्रारम्भको अवसरमा निःशुल्क सेवा उपलब्ध गराएर समुदायप्रति हाम्रो सामाजिक दायित्व निर्वाह गर्न खोजेका हौं," उनले भने ।
यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज जस्ता संस्थान सञ्चालन गरिसकेको समूहले अहिले काठमाडौं नेशनल मेडिकल कलेजलाई पुनः सक्रिय बनाउने प्रयास थालेको हो ।