Swasthya Awaj
भवन छैन, सपना छ: एक महिनामा ३० मिर्गौला प्रत्यारोपण गर्दै ‘धर्मभक्त केन्द्र’ले रच्यो सफलता

भक्तपुर, २०८२ साउन १३- नेपालमै पहिलोपटक मिर्गौला र कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गर्दै आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले असार महिनाभरिमा मात्रै ३० बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको छ। केन्द्रका अनुसार ती सबै प्रत्यारोपण शतप्रतिशत सफल छन् जुन संख्या एक महिनामा सम्पन्न हुने प्रत्यारोपणको हिसाबले अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय मानिन्छ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, “धेरै संख्यामा प्रत्यारोपण गर्दै आएको भए पनि केन्द्रसँग अझै आफ्नै भवन छैन, र जनशक्तिको पारिश्रमिक न्यूनतम स्तरमै सीमित छ। यस्तै अवस्थाबीच पनि केन्द्रले देशको करिब दुई-तिहाइ प्रत्यारोपण सेवा एक्लै सञ्चालन गर्दै आएको छ।”

एउटा सानो कोठाबाट सुरू भएको यात्राले बनायो राष्ट्रिय केन्द्र

TB

धर्मभक्त केन्द्रले अहिलेसम्म १,४७१ जना मिर्गौला३४ जना कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। केन्द्रले नेतृत्व गर्दै आएको टोलीले अबसम्म देशका चारवटा प्रदेशहरू – बागमती, गण्डकी, लुम्बिनी, र कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिसकेको छ। बाँकी तीन प्रदेशमा पनि सेवा विस्तारको तयारी भइरहेको छ।

डा. श्रेष्ठका अनुसार, “हामीसँग योजना छ, तर भवन छैन। सरकारले 'प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान' बनाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन अझै अलपत्र छ। केन्द्रको आफ्नै अस्पताल भवन नहुँदा हामी अन्य संस्थाको भर पर्न बाध्य छौं।”

आँकडाले के भन्छ?

  • आर्थिक वर्ष २०८१/८२ मा:

    • १८६ मिर्गौला प्रत्यारोपण
    • ८ कलेजो प्रत्यारोपण
    • विभिन्न प्रादेशिक अस्पतालहरूमा ८ जना मिर्गौला प्रत्यारोपण
  • प्रत्यारोपण हुनेहरूको उमेर: १४ देखि ७१ वर्षसम्म

    • २०-४९ वर्ष समूह: ८०% बिरामी
    • ग्रहणकर्ता: १३६ पुरुष, ५० महिला
    • अंगदाता: १३० महिला, ५५ पुरुष
  • प्रदेशगत प्रतिनिधित्व:

    • बागमती (३२%)
    • कोशी (२७%)
    • गण्डकी (१३%)
    • लुम्बिनी (११%)
    • मधेश (१०%)
    • कर्णाली (५%)
    • सुदूरपश्चिम (२%)
  • जातीय सहभागिता:

    • आदिवासी/जनजाति (५२%)
    • ब्राम्हण/क्षेत्री (२६%)
    • मधेशी (११%)
    • दलित (९%)
    • मुस्लिम (२%)

सपना-५०० प्रत्यारोपण वार्षिक

धर्मभक्त केन्द्रले ५०० बेडको अस्पताल भवन निर्माण गरी वर्षेनी ५०० मिर्गौला र कम्तीमा ५० कलेजो प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ। यसको लागि केन्द्रले इट्टा टायल कारखाना, नेपाल ट्रस्टको सल्लाघारीको जग्गा वा चाँगुनारायण–सुडाल क्षेत्र उपयुक्त हुने देखिएको बताएको छ।

यदि राज्यले उपयुक्त जग्गा उपलब्ध गराएमा केन्द्र आफैंले स्रोत जुटाएर संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ – जसले नेपालका हजारौं बिरामी विदेश जानुपर्ने बाध्यता हटाउनेछ र अरबौं रुपैयाँ देशभित्रै जोगिनेछ।

संघर्षपूर्ण अवस्थाबीच धर्मभक्त केन्द्रले जसरी प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको छ, त्यसले ‘भवन नभए पनि मन हुनुपर्छ’ भन्ने उदाहरण प्रस्तुत गरेको छ। अब आवश्यकता छ – राज्यको संलग्नता र स्थायीत्व। किनभने स्वास्थ्य क्षेत्रको भविष्य, यही सफलताको जगमा उभिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update