Swasthya Awaj
कृत्रिम सास दिँदै जीवन फर्काइन् : बैतडीमा अनमीको आठ घण्टा लामो संघर्ष

बैतडी २०८२, साउन १३- सुदूरपश्चिमको विकट पहाडी गाउँमा एउटा महिला स्वास्थ्यकर्मीले मानवताका लागि जुन समर्पण देखाइन्, त्यो केवल कथा जस्तो लाग्छ। तर यो सत्य घटना हो जहाँ एक नवजात शिशुलाई आठ घण्टासम्म मुखबाट कृत्रिम सास दिइयो, अनि एउटा जीवन फेरि फिर्ता ल्याइयो।

बैतडीको सिगास गाउँपालिका-४ स्थित कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पूजाराको यो साहसिक प्रयास अहिले सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

साउन ८ गते राति, लक्ष्मी धामी नामकी महिलाले एक नवजात शिशुलाई जन्म दिइन्। तर शिशु सास फेर्न सकेन। अक्सिजन, सक्सन मेसिन, बालिनाल साइजको एम्बुबेग केही पनि उपलब्ध थिएन। यस्तो अवस्थामा धेरैले हार मान्थे, तर अनमी पूजाराले विकल्प खोजिनन् उनले शिशुलाई मुखबाटै कृत्रिम सास दिन थालिन्।

TB

यो प्रयास एकछिनको होइन राति ९:३० बजेबाट सुरु भएको यो "सासको संघर्ष" बिहान ४ बजे सम्म चल्यो।

“शिशुको सास चलेको देखेपछि मात्र मैले राहतको सास फेरें,” पूजाराले भनिन्, “त्यो रात एक-एक सेकेन्ड निकै भारी थियो।”
उनले आफ्नो कर्तव्य भन्दा माथि मानवीय संवेदनालाई प्राथमिकता दिइन्। अहिले बच्चा र आमा दुबै स्वस्थ छन्।

देशभरका आधारभूत स्वास्थ्य संस्थामा जनशक्ति, औषधि, उपकरण अभाव पुरानै समस्या हुन्। तर त्यही अभावमा पनि सेवा दिन तयार स्वास्थ्यकर्मीको यस्तो समर्पण विरलै देखिन्छ। पूजाराले उठाएको आवाज पनि यही हो “यदि सबै स्वास्थ्य संस्थामा आधारभूत उपकरण भए, तिनको प्रयोग कसरी गरिन्छ भन्ने भावना पनि चाहिन्छ।”

यो घटना प्रस्ट पार्छ केवल प्रविधि भएर पुग्दैन, सेवा भावना पनि हुनुपर्छ। किनकि कहिलेकाहीँ प्राविधिक विकल्प हुँदैन, केवल हिम्मत बाँकी हुन्छ। संसाधन नभएर आलोचित हुँदै आएका गाउँका स्वास्थ्य चौकीहरूमा यस्ता घटनाले स्वास्थ्य सेवा अझै जीवित छ भन्ने विश्वास दिन्छ।

अनमी जानकी पूजाराको कामलाई पुरस्कार दिनुभन्दा पहिला यस्तो सेवा संस्कारलाई संस्थागत गर्नु आवश्यक छ। स्वास्थ्यकर्मीको तालिममा "भावना र तत्परता" सिकाउने विषय पनि जोडिनु जरुरी छ।

जब स्वास्थ्य सेवा केवल जागिर नभई जीवनको कसम बन्छ, त्यहाँ चमत्कार सम्भव हुन्छ। अनमी पूजाराको यो काम हाम्रो समाजको मौन नायकत्व हो जुन न त ठूलो अस्पतालमा भयो, न त ठूला तलबमा, तर एउटा सानो गाउँमा जीवनलाई फेरि साँस दिन सफल भयो।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update