Swasthya Awaj
वीर अस्पतालको १३६ वर्षः विगतको गौरव, वर्तमानको चुनौती र भविष्यको सम्भावना

काठमाडौँ, २०८२ साउन १२- नेपाली स्वास्थ्य सेवाको इतिहास बोकेको वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवस मनाइरहँदा एकातर्फ गौरवपूर्ण विगतको सम्झना गरिएको छ भने अर्कोतर्फ वर्तमान समस्याहरूको गम्भीर समीक्षासमेत गरिएको छ। सन् १८८९ मा १५ शैयाबाट सेवा सुरु गरेको यो अस्पताल आज हजारौं बिरामीको जीवनसँग गाँसिएको छ-आशा, भरोसा र असन्तोषका धागोमा।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको वर्तमान अवस्था सुधार्न सकियो भने समग्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव हुने बताउँदै, पूर्वाधारदेखि सेवा प्रणालीसम्म सुधार गर्न सरकार प्रतिबद्ध रहेको संकेत दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा अझै ठूलो लगानी आवश्यक रहेको भन्दै, “वीर सुधार्न सकियो भने नेपालका लाखौं जनताको उपचारको अवस्था फेरिन्छ,” भन्नुभयो।

इतिहासले बोकेको सम्मान

TB

वीर अस्पताल आधुनिक नेपाली स्वास्थ्य सेवाको शिलान्यास हो। यहाँबाट प्रसूति सेवा छुट्याएर थापाथलीमा मातृशिशु अस्पताल, बालरोग छुट्याएर कान्ति बाल अस्पताल, मानसिक स्वास्थ्य छुट्याएर पाटन मानसिक अस्पताल स्थापना भएका हुन्। वीर अस्पतालको भित्ताले देशका सबै भूगोल, वर्ग र समुदायको पीडा बोकेको छ यही अस्पतालले सहरको मात्र होइन, गाउँगाउँको दुख बुझ्ने काम गरेको छ।

वर्तमानको कठोर यथार्थ

तर १३६ वर्षको यात्रामा अस्पताल आज सेवा भन्दा बढी समस्याले चर्चित बन्दै गएको छ। चिकित्सकको नियमित अनुपस्थिति, अनियमित सेवा प्रवाह, डिजिटल प्रणालीमा कमजोरी, औषधिको अभाव, र राजनीतिक हस्तक्षेपले यो संस्थाको छवि धमिलिँदै गएको छ।

हालैको वर्षमा मात्र ओपिडीमार्फत ६ लाखभन्दा बढी बिरामी सेवा लिएका थिए। तर यही संख्यामा सन्तुष्ट सेवा पाउने अनुपात न्यून रहेको सेवाग्राहीहरू बताउँछन्। चिकित्सक निर्धारित समयभन्दा ढिलो आउने, अपरेसनको पालो महिनौं पर्खनुपर्ने, र अत्यावश्यक औषधि समेत बाहिरी फार्मेसीबाट महँगोमा किन्नुपर्ने अवस्था आज पनि कायमै छ।

सुधारको बाटो: नेतृत्व र प्रतिबद्धता

डिजिटल प्रणालीको मजबुतीकरण, बायोमेट्रिक हाजिरी, सिसिटिभी निगरानी, नियमित मूल्यांकन, आवश्यक औषधिको सुनिश्चितता र चिकित्सकीय समर्पणलाई सम्मानजनक वातावरण बनाउनुपर्ने सुझावहरू बारम्बार उठिरहेका छन्।

न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई अनुसन्धान र शैक्षिक केन्द्रको रूपमा थप सुदृढ बनाउन योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको छ। दुवाकोटमा विस्तार गरिएको अस्पताललाई शिक्षा–सेवाको संयुक्त मोडेलमा रुपान्तरण गर्ने तयारी भइरहेको समेत जानकारी गराइएको छ।

इतिहासको गौरवलाई संरक्षण, सुधारको मार्गमा प्रतिबद्धता

वीर अस्पताल आज इतिहासको साक्षी हो तर यो केवल अतीतमा रमाउने ठाउँ होइन, यो भविष्य बनाउने जिम्मेवारी बोकेको संस्था हो। राज्य, नेतृत्व, कर्मचारी र सेवाग्राही सबैले एकतासाथ अघि बढ्ने हो भने वीर अस्पताल फेरि एकपटक "रैतीका लागि बनेको सेवा केन्द्र" को मौलिक भावनामा फर्कन सक्छ। किनभने वीर अस्पताल नाम मात्र होइन, यो जनताको जीवनसँग जोडिएको एउटा विश्वास हो।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update