
काठमाडौँ, २०८२ साउन १२- भक्तपुर क्यान्सर अस्पतालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा सेवा विस्तार गरेको छ। अस्पतालले दन्त तथा मुख रोग विभाग र स्तन क्यान्सर उपचारका लागि छुट्टै वार्ड स्थापना गरेको छ।
अस्पतालले समयमै उपचार प्रवाह र समुदायमा क्यान्सर सम्बन्धी जनचेतना बढाउन क्यान्सर सर्वाइभरहरूलाई सम्मान पनि गरेको छ। नेपालमा टाउको र घाँटीका क्यान्सरको समस्या ठूलो रहेको छ, जुन प्रारम्भिक अवस्थामा पहिचान भए उपचार सम्भव छ। तर जनचेतना अभाव, सामाजिक लाज र ग्रामीण क्षेत्रमा उपचार सेवा पहुँचको कमीका कारण बिरामीहरू प्रायः ढिलो अस्पताल पुग्ने गरेका छन्, अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताए।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुका अनुसार बिरामीहरूको अनुहारमा देखिने खुसी नै अस्पतालको सेवा गुणस्तरको प्रतिविम्ब हो। उनले भक्तपुर क्यान्सर अस्पतालको सेवा प्रभावकारी रहेको भन्दै सहकार्यमा जोड दिए।
२००७ सालमा भरतपुर अस्पतालमा सुरु भएको हेड एण्ड नेक विभाग अहिले देशका सबै क्यान्सर अस्पतालमा विस्तार भइसकेको छ। यसले नेपालमै विश्वस्तरीय सेवा उपलब्ध हुने अवस्था सिर्जना गरेको छ, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए।
भक्तपुर क्यान्सर अस्पतालको यस सेवा विस्तारले क्यान्सर रोगीहरूका लागि सहज उपचार र सचेतना प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।