Swasthya Awaj
देशभर रेबिज र सर्पदंश उपचारका औषधिको आपूर्ति तीव्र, मन्त्रालयले सातै प्रदेशमा पुर्‍यायो खोप र भेनम

काठमाडौँ, २०८२ साउन १२- देशभर रेबिज तथा सर्पदंशजस्ता प्राणघातक समस्याको उपचारमा प्रयोग हुने खोप र औषधिको अभाव हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीव्र कार्यान्वयन अघि सारेको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने भेनम आपूर्ति गरेको छ।

अभावबारे समाचार बाहिरिएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा आपूर्ति प्रक्रिया तिव्र पारिएको हो। मन्त्री पौडेलले औषधिको अभावले जनस्वास्थ्यमा गम्भीर असर नपरोस् भन्ने उद्देश्यले तत्काल आपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन योजना तयार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए।

TB

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, पहिले नै खरिद भइसकेका खोप तथा औषधिहरू हाल प्रदेश आपूर्ति केन्द्रहरूमा पुगी, अब ती स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

विभागको तथ्यांकअनुसार, हालसम्म ५१ हजार १८० भायल रेबिजविरुद्धको खोप देशभर आपूर्ति गरिएको छ। यसका साथै हजारौं भायल सर्पदंशविरुद्धको भेनम पनि वितरण भएको छ।

  • बागमती प्रदेश: १०,०८० भायल रेबिज खोप र १,००० भायल भेनम
  • मधेश प्रदेश: ५,००० भायल रेबिज खोप र २,५०० भायल भेनम
  • अन्य प्रदेशहरू (कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम) मा मागअनुसार आपूर्ति सर्पदंशका घटनाहरू बढी हुने मधेश प्रदेशमा विशेष प्राथमिकता दिई बढी मात्रामा भेनम आपूर्ति गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, आपूर्तिको निरन्तरता कायम राख्न विभागले आगामी दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी मात्रा वितरण गर्ने गरी योजना अघि बढाएको छ। यो योजनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत खोप र औषधिको सहज पहुँच सुनिश्चित गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

संक्रामक रोग विशेषज्ञ डा. विवेक शर्माले रेबिज र सर्पदंश दुबै समयमै उपचार नभए ज्यानसमेत जाने खालका रोग भएकाले औषधिको अभाव हुनु चिन्ताजनक विषय भएको बताए। "सरकारको सक्रियता सकारात्मक हो तर यसको निरन्तरता जरुरी छ," उनले भने। "साथै, वितरण, भण्डारण र स्थानीय आवश्यकताको यथार्थ विवरणको आधारमा आपूर्तिको व्यवस्थापन हुनु आवश्यक छ।"

पछिल्लो सक्रिय आपूर्तिले तात्कालिक समस्या समाधान गरे पनि नागरिक स्तरमा सरकारप्रति विश्वास कायम राख्न दीर्घकालीन व्यवस्था आवश्यक छ। सर्पदंश र रेबिज जस्ता जोखिमयुक्त रोगप्रति सजगता, जनचेतना र औषधिको समयमै उपलब्धताले मात्र जनस्वास्थ्य सुदृढ बन्न सक्छ।

प्रकाशित मिति: सोमबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update