Swasthya Awaj
वीर अस्पतालको १३६औं वर्षमा प्रवेश : निर्देशक डा. शर्माको विशेष योजना- इमर्जेन्सी सेवा विस्तार, भीड व्यवस्थापन र कुरुवा घर निर्माणमा प्राथमिकता

काठमाडौं, २०८२ साउन १२- नेपालको इतिहासमा गहिरो छाप छाड्दै आएको वीर अस्पताल आज आफ्नो १३६औं वर्षमा प्रवेश गरेको छ। १५ शैयाबाट सुरु भई हाल ४६० शैयासम्म सेवा विस्तार गरिसकेको यो अस्पताल नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा प्रतिष्ठित छ। तत्कालीन प्रधानमन्त्री श्री ३ वीर शम्शेरको नेतृत्वमा स्थापना गरिएको यस संस्थाले समयसँगै चिकित्सा उपचार, शैक्षिक विकास र अनुसन्धानमा उल्लेखनीय योगदान दिँदै आइरहेको छ।

आज देशकै प्रमुख चिकित्सा केन्द्रका रूपमा परिचित वीर अस्पतालले जनस्वास्थ्य सेवा पु-याउने आफ्नो मूल उद्देश्यलाई यथावत् राख्दै गुणस्तरीय, सर्वसुलभ र समावेशी स्वास्थ्य सेवामा ध्यान केन्द्रित गरेको छ।

इतिहासको पृष्ठभूमि र सेवालाई व्यापकता

TB

वि.सं. १९४६ सालमा स्थापना भएको वीर अस्पताल १३६ वर्षको लामो इतिहास बोकेको संस्था हो। सुरुवाती समयमा केवल १५ शैयाको सानो अस्पतालको रूपमा सुरुवात गरिएको भए पनि हाल यो अस्पताल ४६० शैयासहितको विशाल संस्थामा रूपान्तरित भइसकेको छ। नयाँ सर्जिकल भवनको निर्माण सम्पन्न भएसँगै यो शैयाको संख्या बढेर ९६० पुग्नेछ, जसले सेवा प्रवाहमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

वीर अस्पतालको सेवा विस्तार राजधानीमै सीमित नरहेर भक्तपुरको दुवाकोटमा समेत विस्तार गरिँदैछ। दुवाकोटमा निर्माणाधीन नयाँ अस्पतालले निकट भविष्यमा काठमाडौँ उपत्यकामा बढ्दो स्वास्थ्य सेवा चापलाई कम गर्न सहयोग गर्नेछ।

शिक्षा, अनुसन्धान र दरबन्दीमा वृद्धि

वि.सं. २०६३ मा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चिविराप्र) ऐन जारी गरी वीर अस्पताललाई राष्ट्रिय शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने निर्णय गर्यो। त्यसपछिका दिनहरूमा एमडी, एमएस, डीएम, एमसीएच, बीएससी नर्सिङ, बीएमएस, एमएनजस्ता उच्चस्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आए, जसले देशका भविष्यका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

कोभिड–१९ महामारीको समयमा अस्पतालले केन्द्रीय युनिफाइड अस्पतालको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। सोही क्रममा सरकारले २०७८ सालमा अस्पतालका लागि थप ८३१ दरबन्दी स्वीकृत गरेको थियो, जसले सेवाको सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ।

निशुल्क सेवा र लक्षित समूहहरू

वीर अस्पतालले खासगरी अति गरीब, अपाङ्गता भएका, हिंसापीडित महिला, बेवारिसे, जेष्ठ नागरिक र जनआन्दोलनका घाइतेलाई गुणस्तरीय निःशुल्क सेवा निरन्तर रूपमा दिँदै आएको छ। यी वर्गका नागरिकलाई सहज सेवा सुनिश्चित गर्ने उद्देश्यले अस्पतालले सामाजिक न्यायको अभ्यासलाई स्वास्थ्य सेवा क्षेत्रमा कार्यान्वयन गरेको देखिन्छ।

निर्देशक डा. शर्माका सुधार योजना

अस्पतालका वर्तमान निर्देशक डा. दिलिप शर्माले १३६औं वार्षिकोत्सवको अवसरमा अस्पताल सुधारका विभिन्न योजना सार्वजनिक गरेका छन्।

“हाम्रो सबभन्दा प्राथमिकता आपतकालीन (इमर्जेन्सी) सेवा विस्तार हो,” डा. शर्माले भने, “वर्तमान अवस्थामा इमर्जेन्सीमा दैनिकजसो बिरामीको अत्यधिक चाप छ। त्यसैले इमर्जेन्सी कक्षलाई अझ फराकिलो र व्यवस्थापनमैत्री बनाउने काम तीव्र गतिमा अघि बढाइँदैछ।”

त्यस्तै, अस्पतालमा दैनिकजसो देखिने भीड व्यवस्थापन पनि अर्को चुनौती भएको उनले बताए। सेवा उपभोगकर्ताहरूको सहजताका लागि टिकट प्रणाली, ओपीडी सेड्युलिङ, र स्मार्ट डिजिटल सूचना प्रणालीमार्फत सहज पहुँचको तयारी भइरहेको उनले जानकारी दिए।

विशेष उल्लेखनीय कुरा भने ‘कुरुवा घर’ निर्माणको योजना हो। देशका कुनाकुनाबाट उपचारको लागि काठमाडौँ आउने बिरामीका साथमा आएका कुरुवाहरूका लागि बस्न र खाना पकाउने सुविधासहितको घर निर्माण गर्न लागिएको हो। डा. शर्माले भने,

“गाउँबाट आएका बिरामीका आफन्तहरू फुटपाथ वा गल्लीमा रात बिताइरहेका छन्। उनीहरूका लागि सुरक्षित र सम्मानजनक बसोबासका व्यवस्था गर्न ‘कुरुवा घर’ निर्माण हाम्रो प्राथमिकता हो।”

भविष्यको दिशातर्फ दृढ प्रतिबद्धता

अस्पतालको आगामी लक्ष्य प्रविधिमैत्री, पहुँचयोग्य र समावेशी स्वास्थ्य सेवा प्रवाहमा आधारित छ। आधुनिक उपकरण, दक्ष जनशक्ति, प्राविधिक सीप र डिजिटल प्रणालीको प्रयोगमार्फत सेवा गुणस्तरमा सुधार ल्याउने योजना डा. शर्माले अघि सारेका छन्।

यही पृष्ठभूमिमा वीर अस्पताल अब केवल उपचार केन्द्र नभई राष्ट्रिय गौरवको शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा अघि बढ्दैछ।

संस्थागत सुधारका यी पहलहरू साकार पार्न सरकार, नीति निर्माण तह, स्वास्थ्यकर्मी, निजी क्षेत्र र आम नागरिकको सहकार्य आवश्यक देखिन्छ।

यसरी, १३६ वर्षको गौरवमय इतिहास बोकेको वीर अस्पतालले आगामी दिनमा अझ सेवा केन्द्रीत, जनउत्तरदायी र विश्वसनीय संस्थाका रूपमा आफ्नो पहिचानलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update