काठमाडौं, २०८२ साउन १२- हरेक वर्ष जुलाई २८ मा मनाइने विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा नेपालले पनि भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा उपलब्धि तथा चुनौतीको पुनरावलोकन गर्दै यस रोगको अन्त्यका लागि संकल्प गर्नुपर्ने आवश्यक देखिएको छ। यस वर्षको नारा-"सबै मिलेर संकल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ" ले आर्थिक, सामाजिक र प्रणालीगत अवरोध हटाउँदै कलेजोको क्यान्सर जस्ता जटिल रोग रोक्न सामूहिक प्रयासको आह्वान गरेको छ।
भाइरल हेपाटाइटिस बी र सी सारा विश्वमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेका छन्। यी रोगहरू लक्षणविहीन रूपमा संक्रमण फैलाउँदै कलेजोको क्यान्सर जस्ता जटिलता निम्त्याउने गर्छन्। संक्रमित रगत, साझा सुइको प्रयोग, असुरक्षित यौन सम्पर्क, र जन्मको बेला आमाबाट बच्चामा संक्रमण फैलने प्रमुख कारण मानिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२४ को हेपाटाइटिस प्रतिवेदनअनुसार सन् २०२२ मा ३० करोडभन्दा बढी मानिस बी र सी भाइरसबाट संक्रमित थिए। तीमध्ये १३ लाखको मृत्यु भएको छ। यदि यस्तै अवस्था कायम रह्यो भने सन् २०३० सम्म झन्डै २९ लाखको मृत्यु हुने अनुमान छ।
नेपालको अवस्था
नेपालमा हेपाटाइटिस बी को प्रकोप ०.९ प्रतिशत र सी को ०.३८ प्रतिशत देखिएको छ। तर सुइ प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, एचआईभी संक्रमित लगायत उच्च जोखिम समूहमा यो दर अझै बढी छ। माथिल्लो डोल्पा लगायतका दुर्गम क्षेत्रमा हेपाटाइटिस बी को संक्रमण दर १७ प्रतिशतसम्म पुगेको देखिन्छ।
विश्वव्यापी अनुमापनका आधारमा नेपालमा करिब १ लाख १५ हजार जना हेपाटाइटिस सी संक्रमित छन्। तीमध्ये केवल १८ प्रतिशतको मात्र पहिचान भएको छ भने १ प्रतिशतले मात्र उपचार पाएका छन्।
उपलब्धि र चुनौती
नेपालले ५ वर्षमुनिका बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण गरी सन् २०१९ मा डब्लुएचओको मान्यता पाएको थियो। तर यस्ता उपलब्धि कायम राख्न बजेट, जनचेतना र सेवा विस्तारमा निरन्तरता दिनुपर्ने विज्ञहरूले बताएका छन्।
हाल देशभरका ९ उपचार केन्द्रबाट हेपाटाइटिस सी को निःशुल्क उपचार उपलब्ध गराइए पनि सेवा सीमित भएकाले धेरै संक्रमितहरू अझै उपचारबिना छन्। कतिपय संक्रमितहरूले निजी अस्पताल वा क्लिनिकमा महँगो शुल्क तिरेर उपचार लिइरहेका छन्।
अबको बाटो
स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिक तहसम्म विस्तार गर्दै, हेपाटाइटिससम्बन्धी सेवालाई राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्नु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। स्थानीय स्वास्थ्यकर्मीलाई हेपाटाइटिस व्यवस्थापनसम्बन्धी सीप प्रदान गरिनु, सार्वजनिक शिक्षामार्फत भ्रम र लाञ्छना हटाइनु आवश्यक छ।
विशेषज्ञहरू भन्छन्, “अब हेपाटाइटिसलाई रोक्न गम्भीर प्रतिबद्धता, सेवा विस्तार, बजेट सुनिश्चितता र नीतिगत प्राथमिकता आवश्यक छ।”
यो विश्व हेपाटाइटिस दिवसमा सरोकारवाला सबैलाई साझा संकल्प गर्न आह्वान गरिएको छ- रोकथाम, परीक्षण, उपचार र हेरचाहको सुनिश्चितता गर्दै भाइरल हेपाटाइटिस अन्त्य गर्न सामूहिक प्रयासको कुनै विकल्प छैन।
“हामीले अब पनि कदम चाल्न सकेनौँ भने यो रोग अझ गम्भीर रूप लिनेछ,” - स्वास्थ्य विज्ञको चेतावनी।
-स्वास्थ्य आवाज संवाददाता




