Swasthya Awaj
जनकपुरमा २ अर्ब ४५ करोड लागतमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल निर्माण हुने

जनकपुरधाम, २०८२ साउन ११- जनकपुर उपमहानगरपालिका-२५ मा विनयतारा क्यान्सर ट्रस्टले २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।

वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनअनुसार अस्पताल निर्माणका लागि कुल ३ विघा १३ कठ्ठा ११.५ धुर क्षेत्रफलको जग्गा निर्धारण गरिएको छ। अस्पताल एक बेसमेन्ट, एक भुइँतलासहित चार तला भवनमा विस्तार हुनेछ।

TB

हाल ट्रस्टले २५ शय्याको अस्पताल सञ्चालन गरिरहेको छ भने नयाँ अस्पताल निर्माण सम्पन्न भएपछि क्यान्सर रोग सम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध हुने जनाइएको छ।

नव निर्माण हुने अस्पतालमा मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी, हेड एन्ड नेक अंकोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, इन्टरनल मेडिसिन, एनेस्थेसिया, रेडियोलोजी, प्याथोलोजी, क्रिटिकल केयर, स्लिप मेडिसिन, जेनेटिक मेडिसिन लगायतका विभाग सञ्चालन हुनेछन्। अस्पतालमा वर्षभरि ३६५ दिन इमर्जेन्सी सेवा उपलब्ध हुनेछ भने बाहिरी बिरामी सेवा हप्तामा ३०० दिन सञ्चालन गरिनेछ।

अस्पतालमा कूल ३०६ जना जनशक्ति खटाइनेछ। तीमध्ये क्लिनिकल सेवामा २६४ जना, व्यवस्थापन तथा प्रशासनमा २१ जना र अस्पताल सहयोग सेवामा २१ जना जनशक्ति रहने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ।

अस्पतालको निर्माण कार्य ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माणपछि प्रदेश २ का साथै सीमावर्ती भारतीय क्षेत्रका बिरामीले समेत सेवा लिन सक्ने विश्वास गरिएको छ।

विस्तृत उपचार सेवा, गुणस्तरीय व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगमार्फत अस्पतालले क्यान्सर रोगको प्रभावकारी उपचार उपलब्ध गराउनेछ। साथै, यसले रोजगारी सिर्जना, स्वास्थ्य पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update