काठमाडौं, २०८२ साउन ११- अब क्यान्सरको आशंका भएका बालबालिकाको प्रारम्भिक परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आर्थिक बोझ कम हुँदै जानेछ। सरकार र म्याक्स फाउन्डेसनबीचको सहकार्यपछि बाल क्यान्सर स्क्रिनिङ, परीक्षण तथा औषधि आपूर्ति कार्यमा थप सहजता ल्याइने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, म्याक्स फाउन्डेसनले क्यान्सर आशंका भएका बालबालिकाको स्क्रिनिङ तथा डायग्नोस्टिक परीक्षणका लागि आवश्यक खर्च व्यहोर्नेछ। यसले प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार थाल्न सहज हुने अपेक्षा गरिएको छ।
सरकारले कात्तिकदेखि क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको उपचार चारवटा सरकारी अस्पतालबाट निःशुल्करूपमा गर्ने तयारी गरेको छ। ती अस्पतालहरूमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताल रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष झण्डै एक हजारदेखि १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। तर, समयमै परीक्षण र उपचार नपुग्दा धेरै बालबालिका जोखिममा पर्नुपर्ने अवस्था रहेको छ। विश्व स्वास्थ्य संगठन (WHO) र सेंट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालसँगको सहकार्यमा नेपालमा बाल क्यान्सर उपचारका लागि आवश्यक औषधि आपूर्ति थालिएको छ। प्रारम्भिक चरणमा झण्डै २,३०० डोज औषधिहरू ल्याइसकिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हाल नेपालमा ब्लड क्यान्सर जस्ता बाल क्यान्सरहरूको उपचार दर ३० प्रतिशत आसपास छ, जुन विश्वको औसत ८०-९० प्रतिशतभन्दा निकै कम हो। यस अवस्थालाई सुधार गर्न राज्य, अस्पताल, संघसंस्था र अभिभावकबीच समन्वय आवश्यक रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्स, वर्ल्ड चाइल्ड क्यान्सर, लियो फाउन्डेसन जस्ता संघसंस्थाहरू बालबालिकाको उपचारपछिको जीवन सहज बनाउन मनोसामाजिक सहयोग, छात्रवृत्ति तथा परामर्श सेवाहरू उपलब्ध गराउँदै आएका छन्।सरकार र साझेदार संस्थाहरूको पहलले बाल क्यान्सर उपचारमा नयाँ आशा देखिएको छ। अब आवश्यक छ-समयमै परीक्षण, चेतना अभिवृद्धि, र निःशुल्क सेवाको प्रभावकारी कार्यान्वयन।




