Swasthya Awaj
डिजिटल स्वास्थ्य र जलवायु संकट: मन्त्री पौडेलको बोआओ फोरममा सन्देश

काठमाडौँ, २०८२ साउन १०- नेपालले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभावलाई विश्वस्तरमा उजागर गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चीनको हाइनानमा सम्पन्न ‘एसिया स्वास्थ्य फोरम २०२५’ मा सम्बोधन गर्दै यस विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।

मन्त्री पौडेलका अनुसार नेपालमा बढ्दो तापक्रम, असामान्य मौसमी परिवर्तन र वातावरणीय संकटले प्रत्यक्षरुपमा जनस्वास्थ्यमा असर पारिरहेको छ। "यी विषय अब केवल वातावरणको सवाल होइन, स्वास्थ्य संकटको प्रारम्भ बिन्दु बन्न थालेका छन्," उनले भने।

TB

फोरमको मुख्य सत्रमा नवप्रवर्तनमा आधारित स्वास्थ्य प्रणालीबारे बोल्दै मन्त्री पौडेलले नेपालले डिजिटल प्रविधिमा आधारित स्वास्थ्य सेवा विस्तारको योजना अघि सारेको बताए। प्रविधिको प्रयोगले दूरदराजका नागरिकलाई सेवा पुर्‍याउनुका साथै खर्च कम गर्ने र रोगको पहिचान र व्यवस्थापनमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

"प्रविधिको अधिकतम प्रयोगमार्फत समावेशी र सुलभ स्वास्थ्य प्रणाली निर्माण हाम्रो लक्ष्य हो," पौडेलले बताए। नेपाल एसियाली मुलुकहरूसँग सहकार्य गर्दै डिजिटल हेल्थको सम्भावना टेकेर अगाडि बढ्न इच्छुक रहेको उनको भनाइ छ।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले चिनियाँ रोग नियन्त्रण निकाय (NDC PA) का प्रमुखसँग भेट गर्दै दुई देशबीच स्वास्थ्य क्षेत्रको प्रविधि र अनुसन्धानमा सहकार्य विस्तार गर्न आग्रह गरेका छन्। हेटौंडास्थित भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग र सरकारी अस्पतालहरूमा न्यूरो उपचार सेवा विस्तारबारे छलफल भएको बताइएको छ।

त्यस्तै, बेइजिङमा रहेका नेपालीहरूसँगको भेटघाटमा उनले विदेशमा बसेर पनि मातृभूमिका लागि योगदान दिन सकिने उल्लेख गर्दै सीप, अनुभव र ज्ञानलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आग्रह गरे।

  • नेपालले जलवायु र स्वास्थ्य सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने
  • डिजिटल स्वास्थ्य प्रणालीतर्फको तेज अग्रसरता
  • चीनसँग अनुसन्धान, उपचार केन्द्र र तालिमका विषयमा सहकार्य
  • प्रवासी नेपालीलाई राष्ट्रसेवामा ज्ञानको योगदानको आह्वान

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update