Swasthya Awaj
मिर्गौला बिरामीलाई स्वास्थ्य बीमा भएमा साढे आठ लाखसम्म सहुलियत

काठमाडौँ, २०८२ श्रावण ९- सरकारले दीर्घ मिर्गौला रोगी तथा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामीलाई साढे आठ लाख रुपैयाँसम्मको सहुलियत दिने भएको छ। तर, यो सुविधा लिनका लागि बिरामीले अनिवार्य रूपमा स्वास्थ्य बीमा गरेको हुनुपर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत मिर्गौला बिरामीका लागि सरकारले साढे आठ लाखसम्म सहुलियत दिने जानकारी दिएका थिए। उनले सार्वजनिक गरेको पोस्टरमा स्वास्थ्य बीमा अनिवार्य हुने उल्लेख गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि यस्तै जानकारी दिएका थिए। स्वास्थ्य बीमा बोर्डले नियमावलीमा उल्लेखित आठ वटा कडा रोग लागेका बिरामीलाई थप १ लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेपछि मन्त्री पौडेलले यो जानकारी दिएका हुन्।

TB

तर धेरैले बुझेजस्तो सबै मिर्गौला बिरामीले यो सुविधा पाउने भने होइन। स्वास्थ्य सेवा विभागका अनुसार मिर्गौला फेल भई प्रत्यारोपण गर्नु पर्ने अवस्थामा मात्रै बिरामीले साढे आठ लाख रुपैयाँसम्मको सुविधा पाउनेछन्।

कुन अवस्थामा कति सहुलियत ?

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दीर्घ मिर्गौला रोग (सीकेडी) भएका बिरामीलाई १ लाख रुपैयाँसम्म उपचार सहुलियत दिने व्यवस्था गरेको छ। बिरामीले वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, सुमेरु अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सेवा लिनुपर्नेछ। यसमा अस्पताललाई नै सोधभर्ना दिइन्छ।

यदि बिरामीको मिर्गौला फेल भई प्रत्यारोपण गर्नु परेमा ४ लाख रुपैयाँ सहुलियत दिइन्छ। यो रकम बिरामीलाई नदिइ अस्पतालले प्रत्यारोपण पछि सरकारसँग सोधभर्ना गर्ने व्यवस्था छ।

त्यस्तै, मिर्गौला प्रत्यारोपणका लागि अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षणमा ५० हजार रुपैयाँ, र प्रत्यारोपणपछि आवश्यक औषधीका लागि १ लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ। यो रकम बिरामीले बिलको आधारमा सोधभर्ना लिन सक्नेछन्।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, बीमाले पहिल्यै दिने १ लाख रुपैयाँ सहुलियतमा नियमावली कार्यान्वयनपछि थप १ लाख रुपैयाँ थपिने व्यवस्था भएको छ। “नियमावली अनुसार आठ वटा कडा रोग लागेका बिरामीलाई थप एक लाख रुपैयाँ दिने निर्णय भएको हो,” उनले बताए।

यी सबै सुविधा जोड्दा ८ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत हुने देखिन्छ। यसमा आजिवन निशुल्क डायलायसिस तथा महिनामा ५ हजार रुपैयाँको निर्वाह भत्ता भने छुट्टै व्यवस्था हुन्, जसले बिरामी र परिवारलाई थप राहत पुर्‍याउने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update