Swasthya Awaj
सार्वजनिक स्थलमा धुम्रपान प्रतिबन्ध : काठमाडौं महानगरको कडा निर्णय

काठमाडौँ, २०८२ श्रावण ९- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्ने निर्णय गरेको छ। महानगरको पछिल्लो निर्णयअनुसार अब सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई जरिवाना तिर्नु पर्नेछ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार, गएको असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पास गरिएको आर्थिक विधेयकमा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी दिएका हुन्।

TB

उनका अनुसार महानगरपालिकाले साउन ९ गतेदेखि एक महिनासम्म प्रचारप्रसार अभियान चलाउनेछ र भदौ १ गतेदेखि उक्त नियमलाई कडाइका साथ लागू गरिनेछ। नियम उल्लङ्घन गर्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ। दोहोर्‍याएमा भने जरिवाना दोब्बर हुने बताइएको छ।

नगर प्रहरी प्रमुख पाण्डेले भने, “सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि धेरैजसोले बेवास्ता गर्दै आएका थिए। हाम्रो हटलाइनमा सार्वजनिक स्थानमा धुम्रपान भएको गुनासा धेरै आउने गरेका छन्। त्यसैले भदौ १ गतेबाट जरिवाना गर्न सुरु गरिनेछ।”

महानगरका अनुसार निजी सम्पत्तिबाहेकका सबै स्थलमा यो नियम लागू हुनेछ। सडक, पार्क, सरकारी कार्यालय, बसपार्क, सार्वजनिक यातायात, स्वास्थ्य संस्था लगायत स्थानहरुमा धुम्रपान गर्न नपाइनेछ। यस्तो नियम लागू गर्नुको मुख्य उद्देश्य जनस्वास्थ्य संरक्षण रहेको महानगरले जनाएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्यमा यसको प्रत्यक्ष असर पर्ने भएकाले महानगरले कडा निर्णय गरेको हो। “धुम्रपानबाट उत्पन्न धुवाँले पासिभ स्मोकरहरूलाई समेत असर गर्ने भएकाले अब सार्वजनिक स्थलमा यस्तो गतिविधि सह्य गरिने छैन,” पाण्डेले भने।

महानगरपालिकाले नागरिकलाई सचेत बनाउने उद्देश्यले पोस्टर, सूचना, अनुगमन र हटलाइनमार्फत यसबारे जानकारी दिन थालिसकेको छ। त्यसपछि पनि नियम उल्लङ्घन गरेमा जरिवाना गरिने महानगरको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update