
बाजुरा, २०८२ श्रावण ९- बुढीगंगा नगरपालिका-७ की २२ वर्षीया पार्वती ल्वारले स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै छोरालाई जन्म दिएकी छन्। झली घर भएकी पार्वतीको सुत्केरी मिति अझै दुई हप्ता बाँकी थियो। तर, साउन ७ गते विहान अचानक व्यथाले च्यापेपछि टाँटे स्वास्थ्य चौकी जाने क्रममा बाटोमै तेस्रो सन्तानका रूपमा छोराको जन्म भयो।
पार्वती माइती घर कोटबाडामा थिइन्। स्वास्थ्य चौकी पुग्न करिब ३० मिनेट लाग्ने बाटोमै उनको सुत्केरी भयो। सुरुमा उनले आफ्नो अवस्थाबारे परिवारलाई समेत नबताएको बताइएको छ।
घटना थाहा पाएपछि टाँटे स्वास्थ्य चौकीकी सिअनमी मंगला कुमारी बोहराको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी तत्काल पुगे। स्टेचरको सहयोगमा पार्वती र नवजात शिशुलाई स्वास्थ्य चौकी पुर्याएर सुरक्षित सुत्केरी सेवा दिइयो।
पार्वतीले १८ वर्ष नपुग्दै विवाह गरेकी थिइन् र अहिले २२ वर्षमै तेस्रो सन्तान जन्माएकी हुन्। केही समय मानसिक तनावका कारण औषधि सेवन गरेकी उनी हाल कमजोर अवस्थामा रहेको स्वास्थ्य चौकीले जनाएको छ।
उनका श्रीमान् गणेश ल्वार भारतमा चौकीदारी गर्छन्। गर्भावस्थामा उनी साथमै नहुँदा, सासु–ससुरा अलग बस्दा र पोइली घरमा पनि पर्याप्त हेरचाह नपाएर पार्वती माइतीघर गएकी थिइन्।