
काठमाडौँ, २०८२ श्रावण ९- अनलाइनमार्फत नक्कली औषधि उत्पादन र बिक्री भइरहेको सूचनापछि औषधि व्यवस्था विभागले छानबिन तीव्र पारेको छ। काठमाडौंको नागार्जुन क्षेत्रमा संचालित एउटा औषधि पसलमा छापा मार्दा मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड र यौन क्षमता बढाउनेजस्ता विभिन्न नक्कली औषधिहरू फेला परेका छन्।
विभागले सो पसल तत्काल बन्द गराउन निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार घटनामा संलग्नलाई हिरासतमा राखिएको छ र अनुसन्धान अधिकृत तोकिएको छ। छानबिन पश्चात् कानुनी कारबाही अघि बढाइने बताइएको छ।
महानिर्देशक ढकाल भन्छन्, “अनुमति नलिइकन औषधि उत्पादन तथा बिक्री गर्नेबारे औषधि ऐनका दफाहरूमा प्रस्ट व्यवस्था छ। छानबिन समितिको प्रतिवेदनपछि के कस्तो कारबाही हुने निर्णय हुन्छ।”
यसबाहेक, विभागले अन्य स्थानमा समेत त्यस्तै अवैध धन्दा भइरहेको आशंकामा निगरानी र छापा कार्यलाई निरन्तरता दिने जनाएको छ। हाल नेपालमा अनलाइनमार्फत औषधि बिक्री वितरण गर्न कुनै कानुनी प्रावधान छैन। औषधि ऐन २०३५ अनुसार औषधिमा मिसावट वा नक्कली औषधि बेचबिखन गरेमा जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने व्यवस्था छ।