Swasthya Awaj
स्वास्थ्य मन्त्रालयद्वारा सामाजिक सेवा एकाइ सञ्चालन मार्गदर्शन २०८२/८३ जारी

काठमाडौँ, २०८२ श्रावण ८- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सेवा एकाइ सञ्चालन मार्गदर्शन जारी गरेको छ। यो मार्गदर्शन नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवाको हकलाई सुनिश्चित गर्दै आर्थिक अभावका कारण कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने नेपाल सरकारको नीतिअनुरूप ल्याइएको हो ।

यस मार्गदर्शनको मुख्य उद्देश्य लक्षित समूहका बिरामीहरूलाई अस्पतालमा उपलब्ध सेवा आंशिक छुट वा निःशुल्क रूपमा उपलब्ध गराई लक्षित समूहमैत्री सेवा प्रवाहमा आवश्यक सहजीकरण गर्नु रहेको छ । साथै, स्वास्थ्य सेवामा समतामूलक पहुँच र उपयोग वृद्धि गर्ने, निःशुल्क तथा आंशिक छुटमा विशेषज्ञ सेवाहरू उपलब्ध गराउने, र स्वास्थ्य बीमा, जेरियाट्रिक स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, विपन्न नागरिक औषधि उपचार कार्यक्रम लगायतका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत रूपमा संयोजन र सहजीकरण गर्ने उद्देश्य पनि यस मार्गदर्शनले लिएको छ।

TB

आर्थिक वर्ष २०८२/८३ मा देशभरका ९५ वटा अस्पतालहरूमा सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भइरहेको छ। यो मार्गदर्शनले सञ्चालनमा रहेका सबै सामाजिक सेवा एकाइको सेवा प्रवाहमा एकरूपता कायम गर्ने लक्ष्य राखेको छ ।

मुख्य प्रावधान तथा क्रियाकलापहरु:

  • सञ्चालन संयन्त्र: सामाजिक सेवा एकाइ सञ्चालनका लागि सामाजिक सेवा एकाइ स्थापना तथा सञ्चालन निर्देशिका, २०७८ ९परिमार्जन, २०७९० बमोजिम अस्पताल प्रमुखको संयोजकत्वमा सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्थापन समिति गठन गरिनेछ ।
  • सहजकर्ताको व्यवस्था: अस्पतालमा बिरामीको चापका आधारमा कम्तीमा २ देखि ६ जनासम्म महिला र पुरुष सहजकर्ता रहनेछन्। यी सहजकर्ताहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सेवा करारमा छनौट गरिनेछ र मासिक रु। २५,००० सम्म पारिश्रमिक उपलब्ध गराइनेछ ।
  • बजेट व्यवस्थापन: सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सशर्त अनुदानस्वरुप विनियोजित बजेटको कम्तीमा ५० प्रतिशतसम्म रकम छुट्याउनु पर्नेछ । ज्येष्ठ नागरिक पनि लक्षित समूहभित्र पर्ने भएकाले जेरियाट्रिक वार्ड सञ्चालन भएको अवस्थामा सम्बन्धित अस्पताल व्यवस्थापनले दुवै कार्यक्रमका लागि प्राप्त रकमलाई एउटै बास्केटमा राखी उपचार खर्च व्यवस्थापन गर्न सक्नेछ ।
  • सेवा निरन्तरता: बन्दाबन्दी, महामारी वा अन्य विपदरप्रकोपको समयमा पनि लक्षित समूहका बिरामीहरूलाई निःशुल्क वा सहुलियत रुपमा उपलब्ध गराउनुपर्ने सेवाहरू अस्पतालले नियमित रुपमा उपलब्ध गराउनुपर्नेछ ।
  • एकद्वार सेवा: स्वास्थ्य बीमा, विपन्न नागरिक औषधोपचार, आकस्मिक स्वास्थ्य, निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमहरूलाई एकद्वारबाट संयोजन तथा सहजीकरण गर्ने जिम्मेवारी सामाजिक सेवा एकाइको हुनेछ ।

लक्षित समूह:
सामाजिक सेवा एकाइले निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्षित समूहमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयम्सेविका, प्राकृतिक प्रकोप पीडित, सहिद परिवार, द्वन्द्व पीडित, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका बेवारिसे बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासीरजनजाति पर्दछन् । अस्पतालले स्थानीय आवश्यकताका आधारमा अन्य समूहलाई पनि लक्षित समूह निर्धारण गर्न सक्नेछ । लक्षित समूहका बिरामीहरूलाई आर्थिक अवस्थाको मूल्याङ्कन र परिचयपत्रका आधारमा छुट प्रदान गरिनेछ अन्य क्रियाकलापहरू:

  • कार्यालय सामग्री, प्रचार/प्रसार र क्षमता विकासका लागि खर्च गरिनेछ ।
  • सेवा लिने व्यक्तिहरूको नामावली र सेवाको प्रकार खुल्ने गरी दैनिक रुपमा सूचना पाटीमा प्रकाशन गर्नुपर्नेछ 
  • लक्षित वर्गका लागि औषधि, खाना, यातायात, र कुरुवा खर्चको व्यवस्थापन गर्न सकिनेछ ।
  • कार्यक्रम सञ्चालन खर्चको आर्थिक तथा सामाजिक लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्नेछ ।

यस मार्गदर्शनले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप समतामूलक र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस्तो छ मार्गदर्शन २०८२/०८३

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update