
काठमाडौँ, २०८२ श्रावण ६- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली राजनीतिक दलहरू नाम र संगठनमा मात्रै फरक भए पनि व्यवहार र सोचमा खासै अन्तर नरहेको टिप्पणी गरेका छन्।
बीपी कोइरालाको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा उदार अर्थनीतिको जग हाल्ने काम नेपाली कांग्रेसले गरेको दाबी गर्दै आजका सबै प्रमुख राजनीतिक दलहरू त्यही बाटोमा अघि बढिरहेको बताए।
“एमालेजस्ता दलहरू पनि फरक आर्थिक अवधारणा ल्याउन सकेनन्, सबै दलहरू लगभग एउटै संरचनात्मक सोचमा अडिएका छन्,” पौडेलले भनेका छन्।
उनले पछिल्लो समय नेपाली कांग्रेस विचारविहीन भएको भन्ने आलोचनालाई अस्वीकार गर्दै पार्टीसँग अझै स्पष्ट नीति र दृष्टिकोण रहेको दाबी गरे।
मन्त्री पौडेलले दलहरूको साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्न सरकार नीतिगत रुपमा स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि अब बहस होइन, कार्यान्वयन प्राथमिकता हुनुपर्छ।