Swasthya Awaj
मधेश प्रदेशले रच्यो कीर्तिमान: देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषण

जनकपुरधाम, २०८२ श्रावण ६- खोप अभियानलाई प्रभावकारी बनाउँदै मधेश प्रदेश नेपालकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने प्रदेश बनेको छ। जनकपुरधाममा आयोजित विशेष समारोहमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई प्रमाणपत्र प्रदान गरिएपछि यस घोषणा औपचारिक भएको हो।

परिवार कल्याण महाशाखाका डा. अभियान गौतमले प्रमाणपत्र हस्तान्तरण गर्दै खोप अभियानको यो उपलब्धिले समग्र देशलाई नै सन्देश दिने बताए। उनका अनुसार, अभियानले देखाएको प्रतिवद्धता र समर्पणलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ।

TB

घोषणा सभामा बोल्दै मन्त्री सिंहले स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिँदै भने, “स्वास्थ्यकर्मीहरूले घरदैलो अभियानमार्फत बालबालिकामा खोप सुनिश्चित गराए, जसको नतिजा आजको यो ऐतिहासिक घोषणा हो।” उनले खोप अभियानले समाजलाई निरोग बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको भन्दै कार्यक्रमलाई दीगो बनाइराख्न सबैमा आग्रह गरे।

मुख्य सचिव मदन भुजेलले मधेश प्रदेशमा भएका सुदृढ समन्वय र सहभागितालाई सफलताको प्रमुख आधार बताउँदै भने, “घोषणा पछि पनि खोपको निरन्तरता अत्यावश्यक छ। दिगोपना बिना घोषणा केवल औपचारिकतामा सीमित हुन्छ।”

स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले खोप कार्यक्रममा स्वास्थ्यकर्मीहरूको समर्पण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। खोप अभियानप्रति स्थानीय निकाय, संघ संस्था र आम जनताको सहकार्यले नै मधेशलाई अग्रणी स्थानमा ल्याएको उनको भनाइ थियो।

त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंह, डा. गरिबदास ठाकुरलगायत वक्ताहरूले अभियानको निरन्तरतामै सफलता टिक्ने बताए।

स्वास्थ्य निर्देशनालय अन्तर्गत खोप सुपरभाइजर लक्ष्मेश्वर झाले १५ महिनासम्मका १ लाख १५ हजार १३९ र १६(२३ महिनासम्मका १ लाख १८ हजार ७६८ बालबालिकालाई खोप दिइएको जानकारी गराए।

अबको चरणमा अभियानलाई निरन्तरता दिन सबै तहका सरकार, स्वास्थ्य संस्था र समुदायबीच अझ मजबुत सहकार्यको खाँचो देखिएको छ। स्वास्थ्यको ग्यारेन्टीका रूपमा रहेको खोप कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउने प्रयास अझ तीव्र बनाउने स्वास्थ्यकर्मीहरूको प्रतिबद्धता स्पष्ट देखिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update