
काठमाडौँ, २०८२ श्रावण ५- नेपाल र चीनबीचको सहयोगमा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माणको तयारी थालिएको छ। उक्त परियोजनाका लागि दुई देशबीच सम्झौता सम्पन्न भएको हो।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोंगबीच भएको भेटपछि औपचारिक सम्झौता भएको हो।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्ष चेनले हस्ताक्षर गरेका हुन्। यसअनुसार भरतपुरमा रहेको क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रफलमा अत्याधुनिक बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र स्थापना गरिनेछ। यसका लागि आवश्यक उपकरण र प्रविधि चीनले उपलब्ध गराउनेछ।
यही अवसरमा निजामती कर्मचारी अस्पतालको पूर्वाधार विस्तारसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने अर्को सम्झौता पनि सम्पन्न भएको छ। चिनियाँ प्रतिनिधिमण्डलले अध्ययनको आधारमा भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यिनै सम्झौता अन्तर्गत नेपाल र चीनबीच मानव स्रोत विकास तथा रसुवागढी–केरुङ सीमा क्षेत्रलाई जोड्ने ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनबारे समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।
अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको भन्दै यस सहयोगले स्वास्थ्य र पूर्वाधार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले उच्चस्तरीय भ्रमणले आपसी समझदारी बढाउने र दीर्घकालीन साझेदारीमा टेवा पुर्याउने बताए।
अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाहरूले विशेषतः क्यान्सर उपचार, सरकारी कर्मचारीको स्वास्थ्य सेवा विस्तार र ऊर्जा क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउने विश्वास व्यक्त गरे।
चीनको प्राविधिक र आर्थिक सहयोगमा निर्माण हुन लागेको बोनम्यारो केन्द्रले भविष्यमा नेपालमै गम्भीर रक्तरोगसम्बन्धी उपचार सम्भव बनाउने आशा गरिएको छ। यसले बिरामीलाई विदेश धाउनुपर्ने अवस्था हट्ने र उपचार खर्चमा समेत ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।