
भरतपुर, २०८२ श्रावण ५- वर्षायाम सुरु भएसँगै चितवनको भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको चाप तीव्र रूपमा बढेको छ। अस्पताल प्रशासनका अनुसार हाल दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी आकस्मिक कक्षमा आउने गरेका छन्।
गत तीन महिनाको तथ्याङ्क हेर्दा वैशाखमा ६०, जेठमा १०५ र असार महिनामा १२६ जना बिरामीले सर्पदंशका कारण अस्पतालमा उपचार लिएका छन्। अधिकांश बिरामी चितवन, नवलपरासी (पूर्व), मकवानपुर, तनहुँ, लमजुङ र गोरखा जिल्लाबाट आएका हुन्।
सर्पदंश हुने बिरामीमा करेत, गोमन, कोभ्रा र भाइपरजस्ता विषालु सर्पका टोकाइ देखिएको छ। यस्ता सर्पको टोकाइले बिरामीको स्नायुतन्त्र र रक्तप्रवाह प्रणालीमा गम्भीर असर पार्ने भएकाले समयमै उपचार आवश्यक पर्ने चिकित्सकहरूले बताएका छन्।
भरतपुर अस्पतालले गम्भीर अवस्थाका बिरामीहरूलाई सघन उपचार कक्ष (ICU) मा राख्ने व्यवस्था गरेको छ भने अन्यलाई आकस्मिक सेवा कक्षमै उपचार दिइन्छ। अस्पताल स्रोतका अनुसार विषालु सर्पको टोकाइका बिरामीलाई कम्तीमा सात–आठ घण्टा निगरानीमा राखेर औषधि उपचार दिइन्छ।
अस्पतालले सेवा विस्तार गर्दै उपचार व्यवस्थालाई चुस्त राख्न प्रयास गरिरहेको भए पनि बिरामीको चापसँगै स्वास्थ्य जनशक्ति र स्रोतसाधनको अभाव महसुस हुन थालेको छ।
विशेषज्ञहरूले वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सर्पदंशबाट बच्न जुत्ता लगाउने, सुत्ने बेलामा झुल प्रयोग गर्ने, झाडी सफा गर्ने लगायत सावधानी अपनाउन सुझाव दिइएको छ।
स्थानिय तह र स्वास्थ्य संस्थाबीच समन्वय गरी प्राथमिक उपचार तालिम, विष निराकरणका सामग्रीहरूको सहज पहुँच र सर्पदंशको समयमा कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा समुदायमा व्यापक जनचेतना फैलाउनु अबको आवश्यकता बनेको छ।