Swasthya Awaj
बहुविशिष्टीकृत बाल अस्पताल निर्माणमा नेपाल लाइफको एक करोड सहयोग: बाल स्वास्थ्य सेवामा निजी क्षेत्रको योगदान

काठमाडौं, असार २९- मुलुकको बाल स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउने प्रयासमा निजी क्षेत्रको सक्रियता बढ्दै गएको छ। यसै क्रममा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग सम्झौतापत्रमा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन किओच–काठमाडौँ बाल अस्पताललाई निर्माण कार्यमा थप गति दिने विश्वास गरिएको छ।

TB

हाल अस्पतालको मूल भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङमार्फत बालबालिकालाई प्रारम्भिक सेवा प्रदान गरिँदै आएको किओचले जानकारी दिएको छ। यस अस्पतालमा बाल स्वास्थ्य सेवा मात्रै नभई नसर्ने रोग अनुसन्धानसमेत सुरु गरिएको छ। सोही अनुरूप किओचले भावी दिनमा प्रादेशिक बाल अस्पतालहरूलाई स्रोत केन्द्रका रूपमा मार्गदर्शन गर्ने लक्ष्य लिएको छ।

सम्झौता कार्यक्रममा नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले निजी क्षेत्रको सहकार्यले मुलुकमा गुणस्तरीय बाल स्वास्थ्य सेवा विस्तार गर्न मद्दत पुर्‍याउने बताए। उनले डा. कोइरालाको नेतृत्वमा अगाडि बढिरहेको किओच परियोजनाले देशको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाल लाइफका सीईओ पराजुलीले कम्पनीले स्वास्थ्य, शिक्षा, संस्कृति र सामाजिक क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने अभियान चलाउँदै आएको उल्लेख गर्दै भविष्यमा सातै प्रदेशमा बाल अस्पताल स्थापना अभियानमा समेत सक्रिय भूमिका खेल्ने बताए।

किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले निजी क्षेत्रको सहभागिता संस्थाका लागि ठूलो हौसला भएको बताए। नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थाले बाल स्वास्थ्य अभियानमा हातेमालो गर्नुले किओचको यात्रालाई थप गति दिएको उनले उल्लेख गरे।

दमकमा स्थापना भइसकेको किओच–दमक बाल अस्पताल अहिले आकस्मिक सेवा, बहिरङ्ग र अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयुजस्ता अत्याधुनिक सेवासहित सञ्चालनमा छ। किओचको यो पहल देशभर बाल अस्पतालको ‘हब एण्ड स्पोक’ मोडलमा अघि बढ्ने स्पष्ट संकेत हो।

नेपाल लाइफको सहयोग केवल आर्थिक मात्र नभई बालबालिकाको स्वास्थ्यप्रति निजी क्षेत्रको सामाजिक जिम्मेवारीप्रति प्रतिबद्धता प्रकट गर्ने सकारात्मक सन्देशसमेत हो। किओच–नेपाल लाइफको सहकार्यले मुलुकको बाल स्वास्थ्य सेवामा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update