
काठमाडौं, असार २८- युर्वेदले शरीरको समग्र स्वास्थ्यलाई जिब्रोको सफाइसँग प्रत्यक्ष रूपमा जोडेको छ। हामीमध्ये धेरैले दाँत माझ्ने बानी त पालेका छौं, तर जिब्रो सफा गर्ने काम भने बेवास्ता गरेका हुन्छौं। तर आधुनिक अनुसन्धान र परम्परागत चिकित्सा प्रणाली दुवैले जिब्रो सफा नगर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने देखाएका छन्।
आयुर्वेदको दृष्टिकोणमा जिब्रो शरीरमा सञ्चित विषाक्त पदार्थ (आम) को संकेतक हो। बिहान उठ्नेबित्तिकै जिब्रोको सतहमा देखिने सेतो, पहेँलो वा खैरो तह शरीरमा सञ्चित विष तथा पाचन प्रणालीको असन्तुलनलाई जनाउने लक्षण हो। यसलाई नियमित रूपमा सफा नगरेमा नकारात्मक प्रभावहरू विस्तारै देखिन थाल्छन्।
विशेषज्ञहरूका अनुसार, जिब्रो सफा नगर्दा हुने नोक्सानमा मुख गन्हाउने, स्वाद गुम्ने, पाचन गडबडी, मुखमा ब्याक्टेरिया र टक्सिनको वृद्धि, दाँत र गिजाको समस्या प्रमुख छन्। जिब्रो सफा नगर्नु भनेको मुखभित्र ब्याक्टेरियाको वासस्थान कायम राख्नु जस्तै हो, जसले दिर्घकालीन रूपमा मुख तथा पाचन स्वास्थ्यमा असर पुर्याउँछ।
हालै अमेरिकाको न्युयोर्क युनिभर्सिटीको डेन्टल कलेजमा भएको एक अध्ययनले जिब्रोमा रहने ब्याक्टेरियाले नशाको सूजन (vascular inflammation) बढाउन सक्ने देखाएको छ। सो सूजनले मुटुको रोग हुने जोखिमसमेत बढाउन सक्ने जनाइएको छ।
यता आयुर्वेदमा भने जिब्रो सफा नगर्नु पाचन प्रणालीमा दोष सन्तुलन गुम्ने, आमको संचय बढ्ने र रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने कारण मानिन्छ। जिब्रोमा रहने मैलो र ब्याक्टेरियाले मुखमा अमिलो स्वाद, दुर्गन्ध र सास गन्हाउने समस्या निम्त्याउँछ भने समयमै सफा नगरिए दीर्घकालीन असर पर्न सक्छ।
जिब्रो सफा गर्ने घरेलु उपायहरुः
१. तामाको स्क्र्यापर प्रयोग गर्ने – आयुर्वेदमा तामाको स्क्र्यापर सबैभन्दा उत्तम मानिन्छ। तामा एन्टिब्याक्टेरियल तत्वले भरिपूर्ण हुन्छ, जसले जिब्रोमा रहेका ब्याक्टेरियालाई नष्ट गर्न मद्दत गर्छ।
२. नुनिलो पानीले कुल्ला गर्ने – बिहान नुनिलो तातोपानीले मुख कुल्ला गर्दा जिब्रोको सतह सफा हुनुका साथै मुखको दुर्गन्ध पनि हटाउन सकिन्छ।
३. तुलसी वा निमको पात चपाउने – यी पातहरूमा प्राकृतिक एन्टिसेप्टिक गुण हुन्छ, जसले मुखको सफाइमा सहयोग पुर्याउँछ।
४. नरिवलको तेलबाट आयल पुलिङ गर्ने – बिहान खालि पेट नरिवलको तेल मुखमा ५–१० मिनेटसम्म राखेर कुल्ला गर्नाले ब्याक्टेरिया नष्ट हुने र जिब्रो सफा हुने विश्वास गरिन्छ।
स्वास्थ्य विशेषज्ञहरू दिनको कम्तीमा एक पटक बिहान खाली पेट जिब्रो सफा गर्न सुझाव दिन्छन्। यसका लागि बजारमा पाइने स्टेनलेस स्टील, प्लास्टिक वा तामाका स्क्र्यापर प्रयोग गर्न सकिन्छ।
आयुर्वेद मात्र होइन, आधुनिक चिकित्सा पद्धतिले पनि जिब्रो सफा गर्नु नित्य स्वास्थ्य अभ्यासको महत्वपूर्ण हिस्सा हो भन्ने पुष्टि गरिसकेको छ। जिब्रो सफा गर्नु केवल स्वच्छता मात्र नभई समग्र स्वास्थ्यको सुरुवाती कदम हो भन्ने बुझ्नु आजको आवश्यकता बनेको छ।