Swasthya Awaj
केरवानी स्वास्थ्य चौकी उत्कृष्ट सेवा प्रदायकका रूपमा घोषित, न्यूनतम सेवा मापदण्डमा ९३ अंक

रुपन्देही, असार २५- रुपन्देहीको देवदह नगरपालिका-२ मा अवस्थित केरवानी स्वास्थ्य चौकी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट सेवा प्रवाह गर्ने संस्थाको रूपमा ९३ अंक प्राप्त गर्दै पहिलो स्थानमा परेको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न न्यूनतम सेवा मापदण्ड पारस्परिक अवलोकन भ्रमण कार्यक्रममा उक्त उपलब्धि सार्वजनिक गरिएको हो।

कार्यक्रमको अध्यक्षता केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष दलबहादुर राकासकोटीले गरेका थिए भने प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणि ज्ञवाली थिए।

TB

देवदह नगरपालिकाभित्रका १२ वटा स्वास्थ्य संस्थाबीच गरिएको सेवा मूल्यांकनमा सुशासन, सेवा पहुँच, व्यवस्थापन क्षमता र क्लिनिकल सेवा व्यवस्थापनलाई मुख्य मापदण्ड बनाइएको थियो। ती मापदण्डहरूमा केरवानी स्वास्थ्य चौकीले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै उच्चतम अंक प्राप्त गरेको हो।

देवदह नगरपालिका स्वास्थ्य शाखाका प्रमुख काशीनाथ बन्जाडेले उक्त स्वास्थ्य चौकीले अघिल्लो वर्ष ९२ अंक प्राप्त गरेको स्मरण गराउँदै यस वर्ष अझ सुधार भएको उल्लेख गरे। उनका अनुसार लगातार उत्कृष्ट नतिजा आउनु समर्पण र जिम्मेवारीपूर्ण सेवाको प्रतिफल हो।

जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले न्यूनतम सेवा मापदण्डलाई स्वास्थ्य सेवाको गुणस्तर मापन गर्ने आधारभूत उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए। उनका अनुसार यस्तो मापदण्डले सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने दिशामा सघाउँछ।

कार्यक्रमका प्रमुख अतिथि चिन्तामणि ज्ञवालीले केरवानी स्वास्थ्य चौकीको सफलतालाई उदाहरणीय भन्दै अन्य स्वास्थ्य संस्थाले पनि यसबाट प्रेरणा लिनुपर्नेमा जोड दिए। उनले नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन भौतिक पूर्वाधार, दक्ष जनशक्ति र समन्वयको संयोजन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा वडा सदस्य बेलुमाया बम्रेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवी, स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update