
सुर्खेत, असार २५- कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा स्वास्थ्य जनशक्ति विस्तार भएपनि अपेक्षित स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकेको बताएका छन्। बुधबार सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वास्थ्य क्षेत्रमा देखिएका संरचनागत र प्रशासनिक चुनौतीप्रति चिन्ता व्यक्त गरे।
उनले पछिल्ला वर्षहरूमा कर्णालीमा चिकित्सक, नर्स, तथा सहायक स्वास्थ्यकर्मीको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाउँदै भने, “बदलिएको व्यवस्था पश्चात् जनशक्ति थपिए पनि स्वास्थ्य सेवा जनतामुखी र प्रभावकारी बन्न सकेको छैन। सुर्खेतमा बढ्दो बसाइसराइले वीरेन्द्रनगर जस्ता नगरपालिकामा सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।”
मन्त्री भण्डारीले रोग नियन्त्रणमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूको सक्रियताले खोप कार्यक्रमलगायत प्राथमिक स्वास्थ्य सेवाहरू प्रभावकारी बनेको बताए। उनले खोप कार्यक्रमलाई अझै दिगो बनाउन स्वास्थ्यकर्मीहरू अझ जिम्मेवार र संलग्न हुनुपर्नेमा जोड दिए।
प्रदेश खोप समिति संयोजक तथा सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले खोप कार्यक्रमले रोग निवारणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रदेशका सात जिल्लामा पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेको जानकारी दिए। उनले बाँकी जिल्लामा पनि चरणबद्ध रूपमा खोप अभियानलाई तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला खोप समन्वय समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनारले भौगोलिक विकटताका कारण कर्णालीका केही ठाउँमा अझै खोप सेवा पु¥याउन कठिनाइ रहेको बताए। यद्यपि स्वास्थ्यकर्मी र स्वयंसेवकको समर्पणले खोप पहुँच विस्तारमा सकारात्मक प्रगति भइरहेको उनले उल्लेख गरे।
सुर्खेत जिल्लामा वि.सं. २०३५ सालदेखि खोप कार्यक्रम प्रारम्भ भएको थियो। वि.सं. २०७५ मा पूर्ण खोप जिल्ला घोषणा गरिएपनि यसलाई दिगोपनमा रुपान्तरण गर्न हालैको घोषणा गरिएको हो।