
पाल्पा, असार २५- सुर्तीजन्य पदार्थको प्रयोग र विक्रीवितरणमा नियन्त्रणका लागि पाल्पाको पूर्वखोला गाउँपालिकाले कडा कदम चालेको छ। मंगलबार सार्वजनिक गरिएको अनुरोध पत्रमार्फत पालिकाले आफ्नै स्थानीय ऐन अनुसार सुर्तीजन्य पदार्थको कारोबार र प्रयोगमा पूर्णरूपेण निषेध गरिएको जनाएको छ।
पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठद्वारा जारी अनुरोध पत्रमा “सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी ऐन, २०८१” लागू भएको स्पष्ट गरिएको छ। उक्त ऐनको परिच्छेद ३, दफा ७ अनुसार १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलाले सुर्तीजन्य पदार्थ सेवन तथा खरिद–बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।
साथै, शिक्षण तथा स्वास्थ्य संस्था, यातायातका केन्द्रहरू, धर्मशाला, मनोरञ्जनस्थल, नाचघर, होटल र रेस्टुरेन्ट लगायतका स्थानमा पनि सुर्तीजन्य वस्तुको विक्री–वितरण र प्रयोगमा निषेध गरिएको छ।
गाउँपालिकाले हाल नसर्ने रोगहरूको जोखिम बढिरहेको सन्दर्भमा, सार्वजनिक स्वास्थ्यको हितमा सो ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न थालेको जनाएको छ। निगरानी बढाइएको भन्दै पालिकाले सुर्तीजन्य पदार्थको कारोबार निषेधित क्षेत्रमा पाइए कानुनी कारवाही गरिने चेतावनी दिएको छ।
पूर्वखोला गाउँपालिकाले उक्त ऐन गएको पुस २६ गतेको गाउँसभाबाट पारित गर्दै कार्यान्वयनमा ल्याएको हो। पालिकाले स्थानीयस्तरमै कानून निर्माण गरी संघीय तथा प्रदेश सरकारको नीतिसँग सहकार्य गर्दै नियन्त्रणात्मक प्रयासलाई संस्थागत बनाउने प्रयास गरेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो पहलले दीर्घकालीन रूपमा बालबालिका, किशोरकिशोरी र जोखिम समूहहरूलाई सुर्तीजन्य पदार्थबाट जोगाउन मद्दत गर्नेछ। पालिकाले आगामी दिनमा विद्यालय, पसल, होटल तथा सार्वजनिक स्थलहरूमा नियमित अनुगमन गर्ने योजना पनि अघि सारेको छ।