Swasthya Awaj
डेंगी संक्रमणको जोखिम उच्च: वेलैमा सावधानी अपनाउनुको विकल्प छैन

काठमाडौं, असार १३– वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ। डेंगी एडिस एजिप्टाई नामक मच्छरको टोकाइबाट सर्ने भाइरल रोग हो, जसले उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, बान्ता र रगत जम्ने समस्या उत्पन्न गर्छ। संक्रमण जटिल बन्दा ज्यान समेत जोखिममा पर्न सक्छ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. गोकार्ण दाहालका अनुसार लगातारको वर्षाले ठाउँ–ठाउँमा जमेको पानी डेंगी फैलाउने मच्छरको प्रजननका लागि उपयुक्त माध्यम बनिरहेको छ। "यो साता र आउने दुई सातासम्म डेंगी संक्रमण फैलिन सक्ने उच्च जोखिम छ," उनले बताए।

उनका अनुसार जमेको पानीमा मच्छरले अण्डा राख्ने, त्यसबाट लार्भा बन्ने र करिब १५–२० दिनभित्र संक्रमण फैलाउने अवस्थामा पुग्ने हुँदा अहिले नै सर्तकता अपनाउनु अपरिहार्य भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार पहाडी तथा तराईका अधिकांश स्थानहरू डेंगीको जोखिममा छन्। विशेषगरी तापक्रम २५ देखि ३० डिग्री सेल्सियस हुने क्षेत्रहरू डेंगी मच्छरका लागि अनुकूल मानिन्छ। हाल देशका ७५ प्रतिशतभन्दा बढी भूभागमा यस्तो तापक्रम भएकाले जोखिम उच्च छ।

TB

डेंगी रोकथामको लागि स्वास्थ्य मन्त्रालयले निम्न सावधानी अपनाउन आग्रह गरेको छ:

  • घरभित्र र वरपर पानी जम्न नदिने।

  • पानी जम्मा हुने ट्यांकी, गमला, ड्रम, डब्बा आदि नियमित सफा गर्ने।

  • लामखुट्टे टोकाइबाट बच्न झुल प्रयोग गर्ने, पूर्ण लुगा लगाउने।

  • झ्याल, ढोकामा जाली राख्ने।

  • मच्छर भगाउने क्रिम वा इलेक्ट्रोनिक उपकरणको प्रयोग गर्ने।

गत वर्षजस्तै यस वर्ष पनि मन्त्रालयले उच्च जोखिम भएका स्थानीय तहमा मच्छर खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ। स्थानीय सरकार र समुदायको सक्रिय सहभागितामै डेंगी नियन्त्रण सम्भव हुने मन्त्रालयको भनाइ छ। डेंगी संक्रमण विरुद्ध सर्तकता नै मुख्य उपाय हो। वर्षायाममा बढ्दो जोखिमलाई दृष्टिगत गर्दै व्यक्तिगत सरसफाइ, वातावरणीय व्यवस्थापन र समुदायस्तरको सचेतना अभियान अपरिहार्य देखिएको छ। सरकारले समयमै सर्तकता अपनाउन आग्रह गर्दै संक्रमण नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update