Swasthya Awaj
ग्राण्डी अस्पताल र चिकित्सकलाई लापरवाहीको मुद्दामा ५७ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतकाे आदेश

काठमाडौं, असार १३– उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै ग्राण्डी सिटी अस्पताल र एक चिकित्सकलाई संयुक्त रूपमा ५७ लाखभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

उपभोक्ता हित संरक्षण सम्बन्धी मुद्दा हेर्ने काठमाडौं उपभोक्ता अदालतको इजलासले सो फैसला गरेको हो। इजलासमा अध्यक्ष रामप्रसाद शर्मा, सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताल र डा.सञ्जिव त्रिपाठीलाई बिरामी वर्षा भण्डारीप्रति लापरवाही गरेको ठहर गर्दै क्षतिपूर्ति तिर्न आदेश दिएको हो।

TB

विरामी भण्डारीले खुट्टाको तिघ्रामा देखिएको समस्या लिएर ग्राण्डी अस्पतालमा उपचार गराएकी थिइन्। चिकित्सकको सल्लाहमा सर्जरी गरिएको भए पनि त्यसपछिको संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै उनले ३ करोड १७ लाख रुपैयाँको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन्।

अदालतले दुवै पक्षको सुनुवाइपछि चिकित्सकीय सेवा पुर्‍याउने क्रममा लापरवाही देखिएको ठहर गर्दै चिकित्सक डा। त्रिपाठीले ४० लाख ३ हजार रुपैयाँ र ग्राण्डी सिटी अस्पतालले १७ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने आदेश दिएको हो।

यसअघि उपभोक्ता अदालतले बिरामीको हक उल्लंघनसम्बन्धी विभिन्न मुद्दामा हिमाल अस्पताललाई १ करोड ४५ लाख र ओम अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिर्न आदेश दिइसकेको छ। यस्ता फैसलाले स्वास्थ्य संस्थाहरूलाई सेवाप्रति थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य संस्थाहरूमा उपचारको नाममा देखिएको लापरवाही अब कानुनी जवाफदेहिताको दायरामा ल्याउन थालिएको छ। उपभोक्ताका हकहित संरक्षण गर्न उपभोक्ता अदालतद्वारा दिइएका यस्ता फैसलाहरू कानूनी चेतनाको सन्देश पनि हुन्।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update