Swasthya Awaj
नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार नाघ्यो, दातृ निकायको सहयोग घटेपछि रोकथाममा चुनौती

काठमाडौं, असार १३– नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार नाघेको छ भने रोकथामका उपायहरूमा गम्भीर संकट देखिएको छ। दातृ निकायहरूको सहयोगमा आएको कटौतीले संक्रमण नियन्त्रण अभियानमा अवरोध उत्पन्न गरेको सरोकारवालाहरूले बताएका छन्।

राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार हालसम्म देशभर ३० हजारभन्दा बढी व्यक्ति एचआईभी संक्रमणबाट प्रभावित छन्। तीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। त्यस्तै, १४ वर्षमुनिका संक्रमित बालबालिकाको संख्या १,०५८ पुगेको छ भने मातृ-शिशु सर्ने संक्रमणका २२७ घटना समेत देखिएका छन्।

स्वास्थ्य अभियन्ताहरूले पछिल्लो समय कन्डम, PrEP (प्री-एक्सपोजर प्रोफिल्याक्सिस) जस्ता अत्यावश्यक सामग्रीको आपूर्ति घट्दै गएको र यसको प्रत्यक्ष असर समुदायमा देखिन थालेको बताएका छन्।

TB

‘हाम्रो समान पहुँच’ संस्थाकी कार्यक्रम संयोजक ज्योति थापाले भनिन्, “कन्डम छैन, PrEP छैन भने संक्रमण फैलन सक्छ। संक्रमितको संख्या कम गर्न राज्य र साझेदार निकाय गम्भीर भएर लाग्नुपर्छ।”

हाल देशभर ९२ वटा एआरटी (ART) केन्द्रमार्फत संक्रमितहरूलाई परीक्षण, औषधि वितरण र परामर्श सेवा दिइँदै आएको छ। तर, बजेटको अभाव र दातृ सहयोग घटेसँगै यी केन्द्रहरू नियमित रूपमा सेवा दिन कठिन भइरहेको केन्द्रका निर्देशक डा. सर्बेश शर्माले जानकारी दिए।

उनका अनुसार, हाल वार्षिक रूपमा करिब ६१४ नयाँ संक्रमण हुने गरेको छ भने औषधिको अभाव, परीक्षण सामग्रीको ढिलाइ, र मानव स्रोतको सीमितताले लक्ष्यमा पुग्न थप चुनौती थपिएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यौन व्यवसायी, ट्रान्सजेन्डर, पुरुष समलिंगी (MSM), लागुऔषध प्रयोगकर्ता, र कैदीबन्दीहरू संक्रमणको उच्च जोखिममा रहेका छन्। उनीहरूलाई आवश्यक सेवा र परामर्श उपलब्ध गराउने कार्य निरन्तर हुन नसकेमा समुदायस्तरमै संक्रमण दर बढ्ने खतरा रहेको चेतावनी दिइएको छ।

नेपालले सन् २०३० भित्र एचआईभी संक्रमण अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। तर, हाल देखिएको अवस्था र स्रोतको अभावका कारण लक्ष्यमा समयमै पुग्न कठिन हुने देखिएको छ। स्वास्थ्य अधिकारकर्मीहरूले दीर्घकालीन रणनीति, आन्तरिक स्रोतको परिचालन र राजनीतिक इच्छाशक्तिको खाँचो औंल्याएका छन्।

नेपालमा एचआईभी संक्रमणको अवस्थालाई गम्भीरताका साथ लिएर संक्रमणको दर नियन्त्रण, सेवा विस्तार, औषधि तथा परीक्षण सामग्रीको सहज आपूर्ति, र दिगो नीति निर्माणमा ध्यान नदिए सन् २०३० को लक्ष्य धूमिल बन्न सक्ने खतरा छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update